झिगुखोला करिडोर : पाँचखाल गौरबको अर्को आयोजना

प्रकाशित मिति: March 23, 2019 5:47 pm

विजय अधिकारी / काभ्रे 

पाँचखाल नगरपालिका कृषि प्रधान उपत्यका हो । यहाँका बहुसंख्यक नागरिक कृषि पेसामा आबद्ध छन । यहाँको सिंचाइ तथा खानेपानीको प्रमुख श्रोत तथा मुहान यो उपत्यका लाई चारै तर्फबाट घेरेर रहेका पहाडहरु हुन । पाँचखाल उपत्यकाको पानीको भण्डार भनेको झिगुखोला र यसका शाखा खोलाहरुनै हुन । झिगुखोला ठुलो नदि हैन , र यसमा बग्ने पानी हिमालयबाट बगेर आउने हैन । यसको मतलव यहाँको पानी रिचार्ज भईरहने प्रकृतिको पानी हैन ।

पाँचखालका जतिपनि पानिका मुहानहरु छन पछिल्लो समय तिनिहरु सुक्दै गएका छन , यसका कारणहरु मध्ये पाँचखाल खाल्डोको जनसंख्या वृद्धि , साथै यहाँका पहाडी क्षेत्रमा रहेका मानिसहरुको समथर उपत्यकामा बसाइँसराइ र खेतीयोग्य जमिन बसोबास क्षेत्रमा परिणत हुदै जानू हो । विश्व जलवायु परिवर्तनको अलावा मुहान संरक्षणमा विशेष चासो र सरोकार नहुनु पनि यहाँको पानीको समस्याको कारण रहेको छ । पछिल्लो समय विना अध्ययन अनुसन्धान भुमिगत पानिको प्रयोग पनि यहाँको समस्याको रुपमा आएको छ ।

पाँचखाल खाल्डो अव्यवस्थित शहरिकरण उन्मुख बजारको रुपमा परिणत हुदैगरेको छ । खेतीयोग्य जमिनमा आवास निर्माण सँगसँगै भुमाफियाको चलखेलका कारण खोला पैनि तथा नहरहरुको अतिक्रमण व्यापक मात्रामा बढेको छ । पाँचखालको सिंचाइको एकमात्र विकल्प झिगुखोलाबाट पाँचखाल उपत्यका भर सिंचाईका लागि राजा मानदेवका पालामा निर्मित ऐतिहासिक नहर राजकुलो र यसका शाखा कुुलोहरु हुन । तर पछिल्लो समय झिगुखोला र राजकुलो र यसका शाखा कुलोहरु चरम अतिक्रमणमा परेका छन । जानअन्जानमा कुलोको क्षेत्रफल भित्रै पाँचखाल नगरपालिकाको प्रमुख प्रशाशकिय भवनको ५० मि. अगाडिनै मन्दिर बनाईएको छ । कुलोको क्षेत्रफल मिचेर आवासिय तथा व्यापारीक प्रयोजनका घरहरु बनेका छन । सरोकारवाला स्थानीय तथा बुद्धिजीवीहरुले एदाकदा यो विषयमा आवाजहरु उठाएता पनि यो संगठित रुपमा अगाडि बढ्न सकेको छैन नत स्थानीय प्रशासनको नै ध्यानाकर्षण भएको छ ।
बढ्दो अव्यवस्थित शहरिकरणको उपज , खोला तथा नहरक्षेत्रमा फोहोर फ्याँक्ने , ढलहरु मिसाउने यथेष्ट प्रमाणहरु फेला परेका छन । यतिमात्र नभई खोला तथा कुलो क्षेत्रमा अतिक्रमण बढेको बढ्यै छन , अनुमति विना बालुवा उत्खनन तथा चोरिसिकारि पनि देख्न सकिन्छ । खोलामै जेसिवि लगाई खाडल खन्ने र पोखरि बनाई पानी तान्ने प्रवृति पनि देखिन्छ ।

विश्व परिवर्तनशिल छ , अव्यवस्थित शहरिकरणको उपज हामीले काठमाडौं उपत्यका तथा बनेपालाई हेर्दा छर्लङ्ग हुन्छ । भुमाफिया तथा खोलामाफियाको चलखेलका कारण बर्षातको समयमा बनेपाको रोग बनेको पवित्र पुन्यमाता खोलालाई हेर्दा पुग्छ । हामीलाई थाहा छ हनुमन्ते भक्तपुरको रोग बनेको थियो कुनै समय , बाग्मति र विष्णुमति , मनहरा र धोबीखोलाले काठमाडौं उपत्यकालाई हरेक बर्षात सँगसँगै प्रताडित पार्ने गरेका समाचारहरु हामी पटकपटक सुन्दै आएका छौं । यद्यपि बनेपाको पुन्यमाता भन्दा बाहेकका चर्चा गरिएका खोलाहरुमा अब एकीकृत योजनाबद्ध कोरिडोर परियोजनाहरु कार्यान्वयनका चरणमा छन , कतिपय सुरुवात हुदै छन , कतिपय पुर्णता उन्मुख छन । सरसफाइ अभियान अनवरत जारी छ । विभिन्न कठिनाई अवरोध तथा आलोचनाका बाबजुद अब तिनिहरु क्रमशः सुधारोन्मुख दिशामा अगाडि बढिरहेका छन , भुमाफियाको चलखेलका कारण कतिपय अवस्थामा बनिसकेका संरचनामा दोजर समेत लगाईएका दृष्टान्त भेट्न सकिन्छ । अव्यवस्थित संरचनामा गरिएको लगानी चिरस्थायी नहुने कुरा दर्शाएको छ ।

पाँचखाल विकास तथा निर्माणका लागि अझैसम्म भर्जिन अवस्थामा छ , पाँचखालमा योजनाबद्ध विकासनिर्माणका गतिविधि संचालन गर्दा भौतिक रुपमा ठुलो क्षति व्यहोर्नुपर्ने अवस्था छैन । सामान्य (हल गर्न सकिने) व्यवधान भन्दा बाहेकको परिस्थिति विकास निर्माणका सवालमा पाँचखालमा विल्कुलै छैन ।

राजधानीमा बाग्मती करिडोर , विष्णुमति करिडोर , मनहरा करिडोर , हनुमन्ते करिडोर र धोबीखोला करिडोर निर्माण भईरहदा , खोला ,पैनी र नालाका मिचिएका भुभाग खोजी भईरहदाँ , पाँचखालको झिगुखोला करिडोर किन नबनाउने रु यसको पर्यावरण जोगाउदै , कटान नियन्त्रण साथै नदिका दुवै किनारामा रुख बिरुवा उद्यान सहितको शडक बिस्तार किन नगर्ने भन्ने बहस पछिल्लो समय पाँचखालका बौद्धिक जमातमाझ चलिरहेको छ । प्रदुषणको चरमचुलीमा रहेका शहरहरु बल्ल कोरिडोर बनाउने ध्यान दिदैछन , हामी २०० बर्ष पछि सम्मको पुस्तालाई पुग्नेगरि , वातावरण र पर्यावरणको यथेष्ट संरक्षण सहित यो काम किन सुरुवात नगर्ने भन्ने प्रश्न खडा भएको छ । भुमाफियाको चंगुलमा पर्नुपुर्वनै सरोकारवाला सम्पूर्णमा ध्यानाकर्षण भएमा पाँचखालले विना अवरोध दोभानापाटि देखि बोहोरे दोभान सम्म करिडोर निर्माण गर्नेमा दुईमत छैन । यसका अतिरिक्त अ‍ैलानि तथा सरकारि जग्गाको खोजि सँगसँगै कुलो र पैनिहरुको क्षेत्रफल संरक्षण समयमानै गर्न सकेमा पाँचखालको सम्भावित अव्यवस्थित संरचनाको क्षति न्युनिकरण हुनुका साथै विरोध र व्यवधान पनि खासै नहुने कुरा यहाँका बुद्धिजीवीहरुको रहेको छ ।
विगत लामो समयदेखि पाँचखाल क्षेत्रमा सामाजिक तथा राजनीतिक गतिविधिमा सकृय युवा नेता कञ्चन अधिकारी भन्नुहुन्छ ः “झिगुखोला करिडोर निर्माणका लागि हालको समय भन्दा उपयुक्त समय अरु छैन , किनभने पाँचखाल विकास निर्माणका हिसावले तिव्र सम्भावनायुक्त राजधानीबाट अति कम दुरिमा अवस्थित भुगोल हुनुका अलावा विकाश निर्माणका लागि उपयुक्त भर्जिन ल्याण्ड हो ।”

निश्चितरूपमा यो भुभागलाई राजधानीको बैकल्पिक ईकोफ्रेन्डलि स्याटेलाईट शहरका रुपमा रुपान्तरण गर्न सकिन्छ । यहाँको पर्यावरण र खेतीयोग्य जमिनको प्रयोग बिनानै यहाँ शहरहरु विकास गर्न सकिन्छ । किनभने पाँचखालका वरिपरिका डिहिहरु यसका लागि उपयुक्त छन , डिहि सँगसँगै रामपुर सिखरपुर र श्रीरामपाटि , आँपघारि , होक्से , अनैकोट, भमरकोट , ढुंगानाबेसि , रानिपानि , खावा केराघारि , लगाएतका क्षेत्रमा आवास निर्माण गरिदाँ , पाँचखाल खाल्डोको खेतीयोग्य जमिन पनि बच्न सक्छ साथै यसले मुख्य राजमार्गबाट नजिकैको दुरिमा रहने हुँदा लागत समेत न्यूनिकरण गर्न मद्दत गर्छ । तर यसका लागि योजनाबद्ध रुपमा विकासका अवधारणा बनाईनुपर्ने , वातावरण तथा पर्यावरणीय अशरको अधिकतम ख्याल गर्दै दिगो विकासको अवधारणा अनुरुप नगरपालिका प्रशासन जिम्मेवार बन्दै विभिन्न माध्यमबाट पाँचखालका लागि अधिकतम समय र लगावका साथ लाग्नुपर्ने देखिन्छ ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......