हुम्लावासीलाई चामल ल्याउन बाटोमै १२ दिन

प्रकाशित मिति: May 14, 2019 11:23 am

बैशाख ३१, हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका ४१ वर्षीय कुम्म थापा नेपाल खाद्य संस्थान मुगुको शाखाबाहिर चामलको भारी कसकास गर्दैछन्  । उनी यहाँसम्म चामल लिन पाँच दिन पैदल हिँडेर आएका हुन् । उनले चामल बोक्न खसीबोका पनि साथै ल्याएका छन् । ‘खसी बोकासँग यहाँ आइपुग्न पाँच दिन लाग्यो । घर फर्किँदा सात दिन लाग्छ । आउजाउमा १२ दिन,’ उनी भन्छन् ।

हुम्लाको सर्केगाड खाद्य डिपोमा चामल नभएकाले उनी मुगुसम्म आउनु परेको हो । ‘सर्केगाडमा चामल छैन,’ उनी भन्छन्, ‘भएको पनि पाउरवाला ठूलाबडाले मात्रै लिन्छन्, हामी गरिबलाई सधैँ मुगुकै चामल खानुपर्छ ।’

यो सहित गरेर मुगुमा चामल लिन २१ पटक आएको उनको भनाइ छ । मुगु धाउनु सजिलो छैन । ‘बिहान तीन–चार बजे नै खसीबोका हिँडाउनुपर्छ । बाटोमा खाने समय पाइँदैन । बास बस्न पनि समस्या हुन्छ,’ उनले कैरन सुनाए ।

उनापानीकै ४२ वर्षीया बासकली रावत १६ पटक चामल लिन मुगु आइपुगेकी छिन् । आउँदाजाँदा बाटोमा कैयौँपटक खुला आकाशमुनि, जंगलको बीचमा वास बस्नुपरेको बासकलीले सुनाइन् । आफ्नै जमिनको उत्पादनले वर्षमा ६ महिना मात्रै खान पुग्ने उनको भनाइ छ । ‘६ महिना चामल किनेरै खानुपर्छ,’ उनले आफ्नै लवजमा भनिन्, ‘चामलकै लागि दिन खानु नाइँ न रात सिनु नाइँ ।’

ठेकेदारको लापरबाहीले समयमा चामल ढुवानी नहुँदा हुम्ली नागरिकले सधैँ चामल लिन मुगु धाउनुपर्ने बाध्यता छ । यो क्रम वर्षेनी दोहोरिइरहेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा पनि ठेकेदारले हुम्लामा चामल ढुवानी गरेका छैनन् । यसबारे कसैले चासो र पहल पनि लिएको छैन ।
– नयाँ पत्रिकाबाट

सम्बन्धित शीर्षकहरु

सात करोड ६८ लाख नक्कली भारूसहित युनुसको समूह पक्राउ

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीको समूहबाट ७ करोड......

मोदीको व्यक्तित्वमा भाजपको जित, कहाँ चुक्यो काँग्रेस ?

काठमाडौं – मिडिया प्रचारवाजी , स्थानीय मुद्धा तथा सामान्य राजनीतिक खेलले लोकतन्त्रमा चुनाव जित्न कठिन......