मोदीको निरन्तरता र नेपाल

प्रकाशित मिति: May 25, 2019 12:12 pm

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ । आगामि मे ३० तारिकका दिन भाजपाले नयाँ सरकार बनाउने घोषणा गरेको छ । दोस्रो कार्यकाललाई सम्हाल्न मोदी कार्यकारी प्रमुख बन्ने निश्चित छ ।

२०१४ देखि अप्रत्यासीत हुन थालेको निर्वाचनले यो पटक पनि त्यसैलाई निरन्तरता दियो । ७ हप्ता लामो प्रकृयाबाट भएको निर्वाचनमा भाजपाले काँग्रेसलाई प्रमुख प्रतिपक्षि दल बन्नबाट रोकिदियो । संसदमा आवश्यक ५५ सिट ल्याउन नसकेर काँग्रेस यसपटक पनि प्रमुख प्रतिपक्षि दल बन्न सकेन । काँग्रेसले ५२ सिट ल्याउँदा भाजपाले ३ सय ३ सिट ल्याएको छ । काँग्रेसको पुरानो विरासत यसपटक पनि खोसिएको छ ।
कुल पाँच सय ४२ सिटका लागि भएको लडाईमा भाजपा गठबन्धनले ३ सय ५३ सिट ल्याउन सफल भएको छ । संवैधानीक प्रावधान अनुसार त्यहाँ सरकार बनाउन २ सय ७२ सिट आवश्यक पर्छ । यसअर्थ भाजपा एक्लै सरकार बनाउन बहुमत ल्याउने पार्टी बनेको छ ।

मोदीको होम डेलिभरी राजनीति
२९ बटा प्रदेशमा भएको निर्वाचनले राहुल गान्धि नेतृत्वको काँग्रेसलाई १५ भन्दा बढी प्रदेशमा शुन्य परिणाममा सिमित गरे निर्वाचन परिणामले देखाउछ ।यस्तै विहारमा लालु यादवको पार्टीले खाता खोल्न नसनु र सिक्किममा पवन चाम्लिङ्गले आफ्नो करिव तीन दशकको विरासत गुमाउनु लोकतन्त्रमा जनसहभागितालाई अर्को विन्दुमा पुर्याएको छ । बंगालमा तृणमुल काँग्रेसको विकल्प खोज्न थालिएको छ । ममता बनर्जीलाई धक्का लाग्न थालेको छ । भाजपाले त्यहाँको मुस्लिमलाई आफ्नो पकडमा पार्न बंगलादेशी आप्रावासी मुस्लिमको भय देखाउँदै त्यहाँको मुस्लिमलाई राष्ट्रवादी हो भन्ने विश्वास दिलाउन सफल भएको छ ।

भाजपाले पूर्वी राज्य आसाम, ओडिसामा पनि आफ्नो पकड जमाएको छ । राजनीतिक विश्लेषक मनीषा प्रियम भारतीय मिडियामा लेख्छिन्–‘यो चुनाव मोदीको होम डेलिभरि राजनीतिका नतिजा यस्तो आएको हो ।’ उनका अनुसार मोदीले गरिबको ढोकामा शौचालयदेखि ग्यास सिलिन्डर सम्म पुर्याउन सफल भए । किसानमा सल्किएको आगो निभाउन किसान सम्मान घोषणा , बैंक खातामा सञ्चालन र पहिलो किस्तावापत दुई–दुई हजार रुपैयाँ जम्मा गरिदिए ।

मोदीको हिन्दु कार्ड आश्चर्य र नौलो विषय होइन । भारतीय पत्रकार प्रज्ञा तिवारीले द न्युयोक टाइम्समा लेख लेख्दै हिन्दु धर्मको मुद्धा उठाएर भाजपा केन्द्रिय राजनीतिमा आएको बताउछिन् । भारतीयमा बहुसंख्यक हिन्दुले भाजपलाई जिताएका हुन् । धर्म निरपेक्ष देशमा धर्म र राममन्दिरको मुद्धालाई बोकेर भाजपाले जित निकालेको हो । यसले मोदीको व्यक्तिवाद वा हिरोइजम पनि मिश्रित रुपमा देखाएको छ । मोदीले हिन्दुत्वलाई राष्ट्रियतामा मिलाउने चतुर खेल खेले । पाकिस्ताले भारतीय शैन्य फौज माथि गरेको आक्रमणले पनि उनको हिरोइजमलाई मलजल गर्यो । शैन्य हवाइ आक्रमण पश्चात् भारतमै बस्ने मुसलमानहरुबाट समेत वाहवाही कमाएका मोदीले चुनावमा आफूलाई सफल चौकिदारको रुपमा परिभाषित गरे । काँग्रेस निरिह बन्यो ।

भाजपालाई गणबन्धनले पनि राम्रो साथ दियो । अध्यक्ष अमित शाहको कुटिल खेलले क्षेत्रिय पार्टी र इन्दिरा गान्धि पश्चात्को नव नेतृत्व ल्याउन बल पुगेको छ । एनडिए अर्थात राष्ट्रिय जनतान्त्तिक गठबन्धन गराउन शाहले निकै मिहेनत गरे । आसाममा आसाम गण , बोडो पिपुल्स फ्रन्टलाई अमितले साथ लिए । यस्तै बिहारमा जद(यू) , पञ्जाबमा शिरोमणि अकाली र महाराष्ट्रमा शिव शेनासँग भाजपाको गणबन्धन फलदायी बन्यो । उत्तर प्रदेशमा पनि महागणबन्धले भाजपालाई त्यत्रो असर गरेन । भारतमा कम्युनिष्ट र वामपन्थिहरुको पत्तासाव नै भयो ।

नेपालमा प्रभाव
नेपालमा कम्युनिष्ट सरकार छ । भौतिकवादमा विश्वास गर्ने कम्युनिष्टहरुले हिन्दु धर्मको वकालत गर्ने भाजपा र उसको सरकारसँग कस्तो सम्बन्ध राख्छ भन्ने आम चासो बढेको छ । निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई बधाई दिँदै ट्वीटमा आफूहरु सहकार्य गर्न तयार भएको बताए ।
पहिलो प्रधानमन्त्री कार्यकालमा मोदी चार पटक नेपाल आइपुगे । पाँच वर्षे कार्यकालमा यती धेरै नेपाल भ्रमण आउने मोदी पहिलो प्रधानमन्त्री हुनुपर्छ । नाकाबन्दी पश्चात् विग्रिएको सम्बन्धलाई सन्तुलनमा ल्याउने यो मोदी कार्ड हुनुपर्दछ ।

मोदी र उनका समकक्षी ओली बिच धेरै हदसम्म समानता छ । जसरी मोदीले हिन्दु कार्ड खेले , होम डेलिभरि नीति ल्याए यो वर्तमान प्रम ओलीसँग पनि मिल्दो जुल्दो छ । ओली पनि भारतीय नाकाबन्दीको विरोध , चाइनासँग झुकाव , रेल र पानीजहाजको गफ , घर घरमा ग्यासको पाइप , विद्युतिय रेल , वृद्धभत्ता लगायतका होम प्रडक्ट बेचेर बहुमतका साथ आएका हुन् । ओली मोदी भाषण शैली र रुची पनि एक हदसम्म समान देखिन्छ ।
मोदी आएपश्चात् व्यापार र अर्थतन्त्रको क्षेत्रमा पनि नयाँ आयाम आएको विश्लेषणहरु अर्थविदहरुको छ । नेपाल भारत सम्बन्धको नयाँ आयाम खोज्न तयार पारिएको इपिजि अध्ययन प्रतिवेदनको गम्भिर छलफल र विश्लेषण हुने तथा प्रतिवेदन दुबै देशले बुझ्ने आशा गरिएको छ । यो मोदी सरकारको समयमा शुरु भएको हो । यस्तै व्यापारमा सहुलियत , नाकामा हुने झन्झट , सार्क वैठक , रेल परियोजना लगायतका विषयहरुमा पनि ठोस कामहरु हुन सक्ने आंकलन अर्थविद तथा राजनीतिक विश्लेषकहरुको छ ।

त्यसो त चिनले पनि मोदीको नेतृत्वलाई स्वागत गरेको छ । यसले पनि नेपाल भारत र चिन त्रिपक्षिय सम्बन्धमा नयाँ शिराबाट प्रभाव पर्ने आंकलनहरु देखिन्छ । भारत बिआरआई को साझेदार बनेमा नेपाललाई फाइदा पुग्ने स्थिती रहन सक्छ । यस्तै भारतले चिन प्रभाव दक्षिण एसियामा नबढोस् भन्ने ढंगले अघी बढेमा पनि नेपालले फाइदा वा नोक्सानी वेर्होनुपर्ने ठाउँहरुमा कुटनीतिक तरबाट सोच्ने दिन आउन सक्छ ।
मोदी आएमा वा राहुल आएमा नेपाल नीतिमा परिवर्तन भइहाल्ने हैन । भारतमा हाम्रो जस्तो सरकारसँगै कुटनीति र भुराजनीतिक खेल फेरिदैन । कर्मचारी तन्त्रको सल्लाहा बमोजिम सरकारले खेल खेल्ने हो । अस्थिर कुटनीति नभएकाले त्यत्रो धेरै प्रभाव त पर्दैन , तर आंशिक रुपमा दुई पक्षिय भ्रमण वा सम्बन्ध सुधारका विषयहरुमा बिचार गर्ने अवस्था रहने देखिन्छ ।

तर, अबको करिव साढे तीन वर्ष पश्चात् हुने चुनावमा नेपालका राजनीतिक दलहरुले पनि हिन्दु कार्ड वा समाज विभाजित हुने मुद्धाहरुलाई उठाएर अघि बढ्दैनन् भन्न चाहिँ सकिदैन ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......