आजबाट सकियो दशैँ, कार्तिक स्नान शुरु

प्रकाशित मिति: October 13, 2019 1:30 pm

काठमाडौं – नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छे अनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधानसमेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

आकाशदीप दान, कार्तिक स्नान शुरु

यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याइन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । तुलसी पूजा सूर्योदय अघि नै गरिसक्नु पर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।

सम्बन्धित शीर्षकहरु

डा. केसीको अनसन स्थगित

काठमाडौं – डा. गोविन्द केसीले आ*न्दोलन स्थगित गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै......

गोविन्द केसीका सबै माग पूरा भैसकेका छन्, ममाथि अन्याय भयो : दुर्गा प्रसाई

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढि शुल्क लिने निजी मेडिकल......