आज उपनिर्वाचन : मतदान शुरु

प्रकाशित मिति: November 30, 2019 8:14 am

काठमाडौं – प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ ।

मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गर्नुभएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दो एकीकृत सुरक्षा योजना बनाइएको छ । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।

अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरेको छ । निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ ।

यसैबीच भक्तपुरको चाँगुनारायण–२ दुवाकोट मतदान केन्द्रमा भएको मतदानको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अवलोकन गर्नुभएको छ । उपनिर्वाचनको अवलोकनका लागि भक्तपुरका मुख्य निर्वाचन अधिकृत जगत्नारायण प्रधानले यहाँ हुने निर्वाचनका लागि गरिएको आवश्यक तयारीबारे प्रमुख निर्वाचन आयुक्त थपलियालाई जानकारी दिनुभयो । उपनिर्वाचन अवलोकनका लागि कूटनीतिक नियोगका प्रमुखहरु मतदान केन्द्र आइसक्नु भएको छ ।

सम्बन्धित शीर्षकहरु

सागमा नेपाललाई ५१ स्वर्ण : फुटबलमा भुटानलाई हँराउँदै नेपालले जित्यो

मंसिर २४, काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले स्वर्ण जितेको छ । भुटानलाई......

१७ वर्षीया युवतीको बिबाह हुँदै गर्दा रोकियो, कारण यस्तो

मंसिर २४, सर्लाही – गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका......