मेचीपारिका नेपाली सोध्छन्- ‘देश छ तर खोइ सरकार ?’

प्रकाशित मिति: January 11, 2017 8:52 am

पुस २७, महेशपुर, झापा – नेपालको भौगोलिक सिमाना पूर्वमा मेचीसम्म मात्रै छैन । झापाका महेशपुर र ज्यामिरगढी गाविसका केही वडा मेचीपारि छन् । तर त्यहाँका बासिन्दा सोध्छन्, ‘देश त छ तर खोइ सरकार ?’
साविकको महेशपुर–२ (हाल भद्रपुर–१) डोलोबस्ती र ज्यामिरगढी–२ ग्वालबस्ती मेचीपारि पर्छन् । डोलोबस्तीका करिब १ सय ४२ घरधुरी र ज्यामिरगढीका पनि त्यही हाराहारीका बासिन्दा वर्षौंदेखि सरकारी सेवासुविधाबाट वञ्चित छन् । उनीहरूसँग नेपाली नागरिकताबाहेक अरू कुनै सरकारी सुविधा छैन । ‘बिजुली, पानी, सडक, औषधोपचार केही छैन,’ डोलोबस्तीका ८५ वर्षीय जीवन राजवंशीले भने, ‘मेचीपारि पनि नेपाल छ भन्ने सरकारलाई पत्तै छैन ।’ यो बस्तीमा उनको चौथो पुस्ता बित्न लाग्यो ।
पूर्वाधारैबिनै वर्ष दिनअघि महेशपुर गाविस भद्रपुर नगरपालिकामा गाभियो । स्थानीयले नगरपालिका भएपछि सुविधा पाइएला भन्ने अपेक्षा गरे । तर, त्यो अपेक्षा पूरा भएको छैन ।
‘बिजुलीका पोल गाडेको २ वर्ष बित्यो,’ नरमाया राजवंशीले सुनाइन्, ‘अहँ बिजुली आएन ।’ केही पोल बाढीले बगाइसकेको छ । मेची नदीमा पुल नभएकाले वर्षायाममा स्थानीय गाउँमै बन्धक बन्छन् । बारम्बारको आग्रहपछि झोलुंगे पुल निर्माणका लागि ठेक्का लागेको पनि दुई वर्ष बित्यो तर ठेकेदार कम्पनीले अहिलेसम्म सिन्को भाँचेको छैन । १८ महिनाभित्र काम सक्ने कम्पनीको सर्त थियो । ‘पुल बन्छ भन्छन्, कहिले हो थाहा छैन,’ नरमायाले सुनाइन् ।
पुल नहुँदा अहिले पनि मेची तर्न स्थानीयलाई सास्ती छ । यहाँका बासिन्दा सम्पूर्ण कुरामा भारतको भरमा छन् । डोलोबस्ती बंगालको खोरीबारी र विहारको पुर्निया जिल्लाअन्तर्गतको नेमुगुढीसँग जोडिन्छ । भद्रपुर बजारभन्दा ठाकुरगन्ज पुग्न उनीहरूलाई सहज छ । डोलो गाउँका पूर्ववडा अध्यक्ष जितलाल राजवंशीले मेचीपारि सरकारको उपस्थिति शून्य रहेको बताए । ‘यो क्षेत्रले कहिल्यै राज्यको सुविधा पाउन सकेन,’ जितलालले भने, ‘राज्यले सधैं पराई सम्झियो हामीलाई ।’
डोला गाउँमा २०४४ सालतिरै स्कुल स्थापना भएको हो । अहिले भव्य पक्की भवनमा छ मेची निमावि । कक्षा ७ सम्म पढाइ हुन्छ । आगामी शैक्षिक सत्रदेखि ८ सम्म पढाइ हुने आश्वासन पाएका छन् गाउँलेले । तर, विद्यालयको पढाइप्रति स्थानीय सन्तुष्ट देखिन्नन् । आठ जना शिक्षक छन् । वर्षामा उनीहरू मेची तरेर आउन नसक्दा पढाइ ठप्प हुन्छ । आजको कान्तिपुरमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

बोलेरो त्रिशूलीमा खस्दा दुई बेपत्ता, चार घाइते

फागुन ९, चितवन – चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप सोमबार बिहान त्रिशूली नदीमा खस्दा दुईजना......

‘मंगलबारको संसद् बाटै विधेयक अघि बढाउँछु’ : प्रधानमन्त्री दाहाल

फागुन ९, काठमाडौं – मधेसी मोर्चाले संविधान संशोधनमार्फत उनीहरूको माग पूरा नभई स्थानीय निकायको निर्वाचन......