ब्रेकिङ न्युज

उपप्रधानमन्त्री गच्छदारले दुहवी नगरपालिकाबाट गरे मतदान

प्रकाशित मिति: December 7, 2017 2:54 pm

मंसिर २१, इटहरी – नेपाली काँग्रेसका नेता उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले बिहीबार दिउँसो दुहवी नगरपालिका–२ तुताहास्थित नवीन निकेतन शिक्षा विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उपप्रधानमन्त्री गच्छदारको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) वैकल्पिक केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री भगवती चौधरीले पनि सोही मतदान केन्द्रबाट ‘ख’ मतदान गरेका छन् ।

दुई हजार मतदाता रहेको उक्त मतदान केन्द्रमा मतदान गरेपछि उपप्रधानमन्त्री गच्छदारले अहिलेको निर्वाचन संविधान कार्यान्वयन गर्ने अवसरको गौरवपूर्ण मतदान भइरहेकाले आफूले संविधान कार्यान्वयनसँगै देशको आर्थिक समृद्धि र युवालाई देशभित्रै स्वरोजगार सिर्जनाको निर्णायक कार्य भएको बताए ।

उनले मतदातामा लोकतन्त्रको पक्षमा मतदान गर्दै देशले प्राप्त गरेको उपलब्धि रक्षाका लागि जुन उत्साह र उमंग देखिएको छ त्यसलाई मूर्तरुप दिन लोकतान्त्रिक नेतृत्वले चुनाव जित्ने वातावरण बनिरहेकामा आफूलाई भित्रैदेखि उत्साह जागेको पनि सञ्चारकर्मीसँगको संक्षिप्त जिज्ञासामा उक्त कुरा बताए ।

उपप्रधानमन्त्री गच्छदारले विपक्षी उम्मेदवार वा दलभन्दा आफूले निकै धेरै फरक मत प्राप्त गरेर निर्वाचन जित्ने परिस्थिति देखिएको समेत जानकारी दिए । उनले पछिल्लो समयमा राजनीतिप्रति सर्वसाधारणमा देखिएको निराशालाई यो चुनावले अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा विश्वासले तुताहा केन्द्रबाट र नेकपा (माओवादी केन्द्र)का तर्फबाट बिना विभागीय मन्त्री रहनुभएका जाकिर हुसैनले इटहरीको पकली मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यस जिल्लामा अहिलेसम्म सम्पूर्ण मतदाताले निर्बाध रुपमा मतदान गरिरहेका छन् । बिहान मतदान प्रारम्भ भएको केही घण्टापछि धरान उपमहानगरपालिका–१६ को चन्द्र संस्कृत विद्यलायको मतदान केन्द्रबाहिर बम विस्फोट भएको छ । तर बम विस्फोटबाट सर्वसाधारण मतदातालाई कुनै असर नपरेको प्रहरीले बताएको छ ।

सुनसरीको सम्पूर्ण मतदानस्थलमा लगभग ४० देखि ४५ प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन अधिकृत भक्तबहादुर भट्टराईले आँकडा दिएका छन् । मतदाताहरु आ–आफ्नो निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मत दिनका लागि उत्साहका साथ पङ्क्तिबद्ध भएर पालो पर्खिरहेको पाइएका छन् ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif