नगरपालिकाका प्रमुख चौधरीमाथि आक्रमण गरेको आशंकामा तीन पक्राउ

प्रकाशित मिति: March 13, 2018 6:12 pm

फागुन २९, धनगढी – कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन् ।

प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले पक्राउ परेका शंकास्पद तीन जनामाथि अनुसन्धान थालिएको बताए ।

‘पक्राउ परेकाहरुको नाम दिन अहिल्यै मिल्दैन,’ नेपालले भने – आक्रमणकारी मंगलबार बेलुका वा भोलिसम्ममा पहिचान भइसक्छन् ।’ घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नं को मोटरसाइकल बरामद गरेको छ ।

घोडाघोडी नगरपालिकाको सुखड बजारको आफ्नै घरमा रहेका प्रमुख चौधरीलाई मोटरसाइकलमा आएका अज्ञात तीन व्यक्तिले गएराति टाउकामा खुकुरी र पेट र खुट्टामा गोली प्रहार गरी फरार भएका थिए ।

आक्रमणबाट घाइते भएका चौधरीलाई तत्काल घोडाघोडी अस्पतालमा लगिएकामा थप उपचारका लागि गएराति नै नेपालगञ्ज लगिएको थियो । उनलाई नेपालगञ्जबाट हेलिकप्टरमार्फत आज काठमाडौँं लगिएको छ ।

उनको खुट्टा र कम्मरमा गोली लागेको थियो भने टाउकोमा खुकुरी प्रहार भएको थियो । नेत्रविक्रम चन्द विप्लबका कार्यकर्ताले नगर प्रमुख चौधरीलाई राजीनामा दिन दबाब दिएको बताइएको छ ।

यस्तै, उनलाई केही दिनअघि सोही नगरपालिकाको देउकलियामा बोक्सीको आरोपमा स्थानीय युवती राधा चौधरीमाथि भएको कुटपिटको घटना गाउँमै मिलाउन दबाब दिई प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप लागेको थियो । नेकपा (एमाले)का तर्फबाट उनी नगरपालिकाको प्रमुखमा विजयी भएका हुन् ।

सम्बन्धित शीर्षकहरु

काङ्ग्रेसको कार्यालय भवन निर्माण

मङ्सिर २७, दमक – नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ । दमक–५ स्थित......

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ : उपप्रधानमन्त्री पोखरेल

मङ्सिर २७, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई/मधेश द्रुतमार्ग’को प्रवेशविन्दु......