वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लाग्छ : अध्यक्ष दाहाल

प्रकाशित मिति: April 12, 2018 1:45 pm

चैत २९, चितवन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् ।

भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा बिहीबारआयोजित शोकसभामा उनले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे ।

उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए । विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले भने, “पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ ।”

मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै उनले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको प्रष्ट्याए ।

नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने उनले बताए । जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै उनले त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गरे ।
छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट सरकारले ल्याउने भन्दै उनले त्यसले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताए ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले तत्काल केही रकम पठाएर २६ वटा जिल्लाका सडक कालोपत्रे गर्ने तयारी भइरहेको पनि बताए । त्यसलाई महानगरबाट सिफारिस भइसकेको दाहालले बताए ।

अध्यक्ष दाहालका आफ्नै सालो (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा बिहीबार नेकपा (माओवादी केन्द्र) १४ नं वडा कमिटीले श्रद्धाञ्जलिसभाको आयोजना गरेको हो ।

सम्बन्धित शीर्षकहरु

अझै सनाखत भएन भूकम्पमा ज्यान गुमाएका ३१ को शव

वैशाख १२, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको......

परराष्ट्रका आधा दर्जन अधिकारीलाई कारबाही सिफारिस

वैशाख १२, काठमाडौँ – बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन......

Displaying hari-om.gif