ब्रेकिङ न्युज

नयाँ वर्षमा सिस्नोले सत्कार

प्रकाशित मिति: April 14, 2018 8:06 am

वैशाख १, अछाम – नयाँ वर्षको सुरुआतसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ। सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने गरिएको छ। नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने प्रचलन प्रदेश नम्बर ७ का पहाडी जिल्लामा र छ। पहाडी जिल्ला अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडीमा वैशाख १ गते धुमधामले बिसु पर्व मनाइन्छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

गत वैशाख १ गते मंगलसेनकी कविता विक एकछिन पनि ढुक्कले बस्न पाइनन्। देवरहरुले लगाइदिएको सिस्नोका कारण उनको शरीर पूरै निदाएजस्तै भयो। बिहान सबेरै उठ्नेबित्तिकै धारामा नुहाउन जाँदादेखि देवरले लगाइदिएको सिस्नोको पोलाइ सहन थालेकी कविताले ढोका थुनेर खाना खान खोज्दा पनि राम्रोसँग खान पाइनन्। खाना खान लाग्दा एकजना देवर झ्यालबाट छिरेर सिस्नो लगाउन खोजेपछि खानासमेत राम्ररी खान नपाएको उनले सुनाइन्।

‘देवरहरुको संख्या धेरै छ, म एक्लै परें। शरीर पूरै निदाउने गरी सिस्नो लगाए,’ कविताले भनिन्, ‘बिसु तिहार आउँदा त दुई तीन दिनअघिदेखि नै चिन्ता लाग्न थाल्छ।’ कवितामात्र होइन, उनको गाउँका अधिकांश महिला नयाँ वर्षको पहिलो दिन एकआपसमा सिस्नो लगाउन र प्रतिकार गर्न व्यस्त हुन्छन्। जसका बढी देवर, नन्द हुन्छन् ती महिलाले सिस्नोको मार बढी खेप्नुपर्छ।

सिस्नो लगाउने परम्परा पहिलेदेखिकै हो। यस अवसरमा देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजुले एक–आपसमा पानीमा भिजाएको सिस्नोले हान्ने गरिन्छ। यसरी सिस्नु लगाउँदा शरीरमा भएको घाउखटिरालगायत छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको मेल्लेख ७ की जानकी रावल बताउँछिन्। जानकीकोे बुझाइमा बिसु तिहारको दिन सिस्नो लगाउनु छालाको रोगका लागि अनिवार्य हुन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारका दिन आफैंले आफैंलाई भए पनि सिस्नो लगाउनुपर्ने मान्यता रहेको जानकीले सुनाइन्।

बिसु तिहारमा महिलाले पुतला नाच खेल्ने तथा पुरुषले बिसु बाघ बनाएर दौडाउने चलन पनि छ। नयाँ वर्ष सुरु हुनु केही दिनपहिले नै अछाम, बाजुरालगायतका जिल्लाका गाउँगाउँमा महिलाले पुतला खेल सुरु गर्छन्। पुतला बिसु तिहारमा रातभर खेलेर विसर्जन गर्ने परम्परा छ। बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाई खाने चलन छ। हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियालीस्वरुप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास छ। नयाँ वर्ष तथा बिसु तिहार मनाउन नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमवासी एक हप्ताअघिदेखि नै घर फर्किने क्रम सुरु भइसकेको छ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif