युवती हत्याको अभियोग फरार युवक पक्राउ

प्रकाशित मिति: April 16, 2018 11:18 am

वैशाख ३, सुर्खेत – सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको संयुक्त अनुसन्धानका क्रममा सुवासलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो । हत्याको बारेमा प्रहरीले आइतबार यहाँ सार्वजनिक गरेको छ । फोन र फेसबुकको विस्तृत विवरणका आधारमा सुवासलाई काभ्रेपलाञ्चोकवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए । चपाईको हत्या गरेको भोलिपल्ट सुवास सुर्खेतबाट भागेर काभ्रेपलाञ्चोक गएको प्रहरी प्रमुख चतुर्वेदीले बताए ।

प्रहरीका अनुसार पक्राउ पर्नुअघि सुवास काभे्रपलाञ्चोक जिल्लाको भुम्ती गाउँपालिका–४, पोखरीचौबासमा मजदुरी गरी बसेका थिए । हत्या भएको एक महिनापछि २०७४ साल माघ ९ गते पञ्चपुरी नगरपालिका–८, जामुने वनमा गीताको कंकाल फेला परेको थियो । त्यसपछि गीताको शव खोजी गर्ने क्रममा टाउकोको कंकाल, एउटा खुट्टाको हड्डी, कपाल, कपालमा लगाएको क्लिप, एक जोडा कपडा, चप्पल फेला परेको चतुर्वेदीले बताए ।

हत्या अभियोग लागेका सुवासलाई २०७४ साल चैत २८ गते काभ्रेमा पक्राउ गरी गत शनिबार सुर्खेत ल्याइएको हो । सुवासले गीतालाई पुस ४ गते राति खोलामा धकेलेको प्रहरीलाई बयान दिएका छन । २०७४ साल पुस ४ गते राति सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोटकी चपाईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित शीर्षकहरु

काङ्ग्रेसको कार्यालय भवन निर्माण

मङ्सिर २७, दमक – नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ । दमक–५ स्थित......

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ : उपप्रधानमन्त्री पोखरेल

मङ्सिर २७, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई/मधेश द्रुतमार्ग’को प्रवेशविन्दु......