ब्रेकिङ न्युज

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ को मृत्यु

प्रकाशित मिति: August 6, 2018 1:27 pm

साउन २१, काठमाडौं । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता लोम्बोकमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।

स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको धक्काबाट बालीको डेनपसारसम्मका भवनहरुका साथै डिपार्टमेन्ट स्टोर र विमानस्थलको टर्मिनलमा क्षति पुगेको छ ।

बालीमा मानिसहरु घरबाट चिच्याउँदै बाहिर निस्केका थिए । लोम्बोकमा सेना र अन्य उद्धारकर्ताहरुले घाइतेहरुलाई स्ट्रेचरमा राखेर सुरक्षित स्थलमा पु–याएका थिए ।

राष्ट्रिय विपद एजेन्सीका प्रवक्ता सुटोपो पुर्वोले मृत्यु हुनेको संख्या ८२ पुगेको र अन्य सयौं व्यक्ति घाइते भएको जानकारी दिनुभयो । हजारौं घरमा क्षति पुगेको छ र अधिकांश मानिसको मृत्यु भत्किएका घरले पुरिएर भएको हो, उहाँले भन्नुभयो । लोम्बोक जिल्लाको उत्तरमा सबैभन्दा बढी ६५ जनाको मृत्यु भएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७.० म्याग्नीच्यूडको उक्त भूकम्प आइतबार साँझ गएको र भूकम्पको केन्द्र उत्तरी लोम्बोक रहेको छ । भूकम्प जमिनको सतहबाट करिब १०.५ किलोमिटर मुनि रहेको थियो ।

“भूकम्पको ठूलो धक्का आउँदा म टिभी हेरिरहेको थिएँ,” लोम्बोक निवासी हारिएनले बताउनुभयो । “बत्ती हल्लिरहेको थियो र मानिसहरु भागौं भागौं भन्दै कराइरहेका थिए । म पनि घरबाट बाहिर निस्किएँ, बाहिर अँध्यारो थियो किनभने विद्युत काटिएको थियो ।”

इन्डोनेसियाका मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको खतरा नरहेको जनाएको छ ।

त्रसित मानिसहरु रातारात अग्ला सुरक्षित स्थानहरुमा पुगेका थिए । बाली र लोम्बोकको विमानस्थल पूर्ववत रुपमै आइतबार रातिदेखि सञ्चालनमा रहेका छन् । भूकम्प आएको आधा घण्टा विमानस्थलहरुमा पनि विद्युत कटौती भएका कारण अन्यौल छाएको थियो ।

यही क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए ।
प्रशान्त क्षेत्रीय बेसिनमा अवस्थित इन्डोनेसिया ज्वालामुखी र फल्ट लाइनका कारण भूकम्पको उच्च जोखिममा रहेको छ । डिसेम्बर २००४ मा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९.१ म्याग्नीच्यूडको भूकम्पले शक्तिशाली सुनामी आएको थियो जसका कारण एक दर्जन तटीय मुलुकका २३०,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......